धनगढी। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले कसैका सामू आत्मसमर्पण नगर्ने बताएकी छन्। काठमाण्डौँमा सुदूरपश्चिम प्रदेशसभामा रहेका नाउपाका सबै सात सांसदहरूसँगको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै श्रेष्ठले आत्मसमर्पण नगर्ने बताएकी हुन्। आत्मसमर्पण नगर्ने बताउनुलाई अर्थपूर्ण रूपमा लिइएको छ।
उनले लेखेकी छिन्,हार्नेहरुले हो आत्मसमर्पण गर्ने १ योद्धाहरु त सहिद भएर मर्छन तर परिचय मर्न दिँदैनन् । आफ्नो देश समृद्धिमा पुगोस् कसको चाहना हुन्न र तर एकैदेशका दाजुभाइ माथि गरिएको थिचोमिचोले मुलुक उकालो होईन ओरालोतिर लाग्छ । देश मागेर बिद्रोह हाम्रो माग होईन,मुलुक समृद्धिका लागि समानुपातिक सहभागिता लक्ष्य हो । हिजो आयातितले बजार धान्थे आज हामी आफै सक्षम छौँ । सतहमा दर्हो पिल्लर छ,भुकम्पले समेत हल्लाउन नसक्ने पिल्लरमा दुइचार घन दुस्साहस मात्रै हो । भलो यसैमा छ,मुलुकिय तलामा तपाईंको पनि साथ रहोस् अनि त चुलिएको महलबाटको दृश्याङ्कन फटिक नजरमा कति सुहाउलान है रुरु श्रमले मुलुक समृद्धिशाली बन्छ आश्वासित शब्दले होइन । जय नागरीक सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।
तर निर्णायक रहेको नाउपाले विश्वासको मत नदिने अडान लिएको छ। नाउपाको साथबिना मुख्यमन्त्री रावलले बुहुमत गुमाउने छन्। नागरिक उन्मुक्ती पार्टीका संस्थापक रेशमलाल चौधरीलाई रिहाई नगरेको तर अर्का सांसद अरुण चौधरीलाई पक्राउ गरे पछि सत्तारुढ दलसँग नागरिक उन्मुक्ति आक्रोशित हुदैँ आएको छ। बन्दीको रिहाई, झुटा मुद्दा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाइ छ।नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारवाही अघि बढाउने छ। ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन।सुदूरपश्चिममा सरकार गठनका लागि २७ सांसद आवश्यक पर्छन्। प्रदेशसभामा नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादी ४ र एक जना स्वतन्त्र सांसदसहित सत्ता बाहिर २४ सांसद छन्। नेकपा माओवादी केन्द्र ११ (सभामुख), नेकपा एमाले १० (उपसभामुख), नागरिक उन्मुक्ति ७ र राप्रपा १ गरेर सत्तारुढ गठबन्धनका पक्षमा २९ सांसद छन्।