डडेल्धुरा : उमेर ७० वर्ष कटिसक्यो । बुढ्यौलीमा दैनिकी सुखद् होला भन्ने आश गरेकी मानी ताम्राकारका दुख भने झन बढ्दै छन् । अमरगढी नगरपालिका–६ छचोडास्थित घरमा पुग्दा ताम्राकार कष्टकर जीवन बिताइरहेकी छन् भन्ने सहजै बुझ्न सकिन्थ्यो । घरका दुबै ढोकामा ताल्चा ठोकिएको थियो । मलिन अनुहार बनाएर एक्लै बसेकी थिइन् मानी । बुढेसकालको सहरा थिए उनका छोरा घनश्याम । तर घनश्याम भने लघुवित्तका कारण श्रीमती र छोराछोरीसहित बेपत्ता छन् । पुर्खेउली पेशा ९तामाको व्यापार० गर्दै आएका घनश्याम र उनको परिवारको दैनिकी केही वर्ष अगाडिसम्म राम्रै थियो । झण्डै ५ वर्ष अगाडि साढे दुई सय परिवारको बसोबार रहेको छचोडामा लघुवित्त संस्थाहरुको इन्ट्रि भयो ।
महिलाहरुका समूह बनाउन थाले । भएको आम्दानी पनि बचत हुने र समस्या पर्दा सहजै ऋण पाउन सकिने भन्दै लघुवित्तकर्मी सर्वसाधारणलाई सम्झाउन थाले । व्यवसाय बढाउने भन्दै घनश्यामको परिवारले पनि लघुवित्तबाट ५ लाख ऋण लिएछ । ऋण दिएको लघुवित्त संस्थाले चर्को ब्याजदर मात्रै होइन विभिन्न शुल्कको नाममा असुली धन्दा नै चलायो । मानी भन्छिन्, “केही समयसम्म त छोराले नियमित किस्ता बुझाउँदै आएको थियो । तर साँवा कहिल्यै पनि घटेन । पछि ब्याजलाई पनि साँवा बनाएर रकम असुल्न थालियो । अहिले छोरा–बुहारी घर छाडेर सम्पर्कविहीन भएका छन् ।” उनका अनुसार अहिले लघुवित्तका कर्मचारी आएर धम्काउने गरेका छन् । “म ७० वर्षकी बुढीलाई घरबाट निस्केउ म ताल्चा लगाउँछु भन्दै धम्काउँछन्,” उनले आँखाबाट आसु झार्दै भनिन्, “यस्तो बुढेउलीमा मैले कहाँ जाने ।”
छचोडाका अर्का स्थानीय भीम ताम्राकारले ताल्चा लगाएको आफ्नो दाइको घर देखाउँदै दुख पोख्न थाले । “लघुवित्तले ब्याजलाई पनि साँवा बनाएर रकम असुल्न थालेपछि मेरा दाई रामबहादुर अहिले भारत पसेका छन्,” उनले थपे, “लघुवित्त नआउँदासम्म तामाको राम्रै व्यवसाय चलाइरहनुभएको थियो । नयाँ घर पनि बनाइरहनुभएको थियो । तर उक्त घर पनि अधुरै छोडेर दाइको गाउँबाट उठिबास भइसकेको छ ।” स्थानीय नेता धर्म ताम्राकारका अनुसार तामाको व्यवसायले आत्मनिर्भर छचोडाबासी अहिले घरमा ताल्चा ठोकेर भाग्नपर्ने अवस्थामा पुगेका छन् ।
“आयस्रोत नहेरी लघुवित्तले सुरुवातमा जवरजस्ती ऋण लिन स्थानीयलाई तयार बनाए,” उनी भन्छन्, “अहिले ऋण प्रवाह बन्द गरेर असुली धन्दा मात्रै चलाइरहेका छन् । यहाँका स्थानीयलाई मर्न बाध्य बनाइरहेका छन् ।” लघुवित्तको ऋणले गाउँ नै खाली हुने चिन्ता उनमा छ । “सहुलियतका नाममा विपन्नलाई झन् विपन्न बनाउने योजना लघुवित्तको रहेछ,” उनले थपे, “एउटै लघुवित्तले दुई करोडसम्म छचोडा गाउँबाट संकल गर्नुपर्ने बताउँदै आएका छन् ।”
अमरगढी नगरपालिका वडा नम्बर ८ खनमडाकी चन्द्रा पार्कीका दुख पनि फरक छैनन् । “सुरुमा निकै सहुलियत हुने भन्दै जवरजस्ती ऋण निकाल्न लगाइयो,” उनले भनिन्, “चार लाख ऋण लिएकी थिए । झण्डै तीन वर्ष लगातार किस्ता तिरे । तर अझै साँवा घटेको छैन । उल्टै ब्याजलाई पनि साँवा बनाएर असुल्न थालिएको छ ।” लघुवित्त संस्थाले रकम असुल्ने नाममा प्रताडित गर्ने गरेको गुनासो उनको छ । “बचत र ऋण असुलीका लागि संस्थाका कर्मचारीले घरायसी सामान मात्रै होइन मेरो त अस्ती बाख्रा नै उठाएर लगे,” उनी भन्छन्, “हामीलाई यी लघुवित्तले त मर्न बाध्य बनाइरहेका छन् ।”
खनमडाकै दत्ति पार्कीका अनुसार सुरुवातमा लघुवित्तले समूह बनाएर ऋण निकाल्न मजबुर बनाएका थिए । “गाउँगाउँ पसेर सुरुमा समूह बनाउँदै ऋण निकाल्नका लागि सहज बाटो देखाए,” उनी भन्छन्, “अहिले तीनै लघुवित्त मृत्युको बाटो देखाइरहेका छन् ।” लघुवित्तका कारण अहिले डडेलधुराको छचोडा, दमडा, खनमडा, हतर्का लगायतका बस्तीहरु रित्तिन थालेका छन् । ऋण तिर्न नसकेर अधिकांश अहिले भारत पलायन भएका छन् । वर्षौसम्म किस्ता बुझाउँदा पनि साँवा नघट्ने र उल्टै ब्याजलाई पनि साँवा बनाएर लघुवित्तले रकम असुल्न थालेको गुनासो स्थानीयको छ । लघुवित्तले धम्की दिएर मर्न बाध्य बनाइरहेको गुनासोसहित अहिले पीडितहरु एकजुट पनि हुन थालेका छन् ।
लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिका सुदूरपश्चिम अध्यक्ष मणिप्रसाद चौलागाईले डडेलधुराका विपन्न वर्गलाई झन विपन्न बनाउने उद्येश्यमा लघुवित्त सक्रिय रहेको बताए । “ऋण नलिएका स्थानीयको बचत रकम पनि लघुवित्त संस्थाहरुले फिर्ता गर्न मानेका छैनन्,” उनले भने, “जसले ऋण लिएका छन्, उनीहरुबाट विभिन्न शुल्कको नाममा असुली भइरहेको छ । घरमा ताला लगाएर भाग्नपर्ने बाध्यता सृजना गरिएको छ ।” आफूहरु नवसामन्तीको रुपमा स्थानपित भएका लघुवित्त संस्था खारेज हुनुपर्ने माग रहेको उनी बताउँछन् । लघुवित्तले चर्को ब्याजदर लिने, किस्ता तिर्न नसकेका सदस्यलाई अनावश्यक दबाब दिने, ऋण दिँदा पूरा रकम नदिने जस्ता समस्याको विरुद्धमा देशभरी नै प्रदर्शन भइरहेको उनले बताए । बाह्राखरीबाट