काठमाडौं। नेपाली कांग्रेसका सांसद बीरबहादुर बलायरले सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीमा राखिए पनि केन्द्रीय सरकारले अहिलेसम्म भोगाधिकार नदिएको बताएका छन्। संसदमा विशेष समय लिएर सांसद बलायरले पाँच वर्ष बितेपनि राजधानीमा भौतिक पूर्वाधारको कुनै काम नभएको बताए। सांसद् बलायरले अहिलेसम्म प्रदेश राजधानीको सीमाकंन र डीपीआरनै नभएको बताए।
‘सातै प्रदेशमा राजधानी तोकिएका छन्। अरु प्रदेशका राजधानी पहिल्यै बनिसकेका सहरहरूमा तोकिएको छ। तर, सुदूरपश्चिममा जंगलमा राजधानी घोषणा भएको छ,’ उनले भने, ‘न ठाउँ फेर्न सक्ने अवस्था छ, न त कुनै संरचना बनाउन सकिएको छ।’उनले भने, ‘सुदुरपश्चिमको राजधानी जंगलमा छ। केन्द्रीय सरकारले भोगाधिकार दिएको छैन। २०७४ सालमा राजधानी घोषणा त गरियो । तर, सरकारले नाम मात्रैको राजधानी घोषणा गर्यो।’उनले प्रदेशले राजधानी बनाउन नसक्ने भन्दै संघीय सरकारले त्यसका लागि बजेट र आवश्यक प्रक्रिया खुला राखिदिनुपर्ने बताए।
बलायरले विभिन्न कारणाले देश जर्जर अवस्थामा गएको बताए। सरकारले आफ्ना व्यवहार नसच्याए स्थिति थप गम्भीर हुने उनको भनाइ छ। अहिले सुदुरपश्चिम प्रदेशको संसद्मा ताला लागेको भन्दै दल गम्भीर बन्नुपर्ने बताए। यस्तै बलायरले मुलुक संघीयतामा गएपनि सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण नबदलिएको बताए। उनले ‘मुलुकको आवश्यकतालाई महसुस गरेर हामीले सरकारलाई समर्थन दिएका हौं । तर, सरकारले प्रदेश राजधानीको जमीनको भोगाधिकार रोकेर राखेको छ।
प्रदेश आफैंले प्रदेशको राजधानी बनाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘हामीले विश्वासको मत यसका लागि दिएको होइन ।’उनले बितेको पाँच वर्षमा सुदूरपश्चिममा एउटा पनि राष्ट्रिय गौरवको आयोजना नदिएको बताए। ‘बितेको पाँच वर्षमा सरकारले एउटा पनि राष्ट्रिय गौरवको आयोजना दिएन, अहिले पनि छैन । गेटा मेडिकल कलेज बनाइएको छ, तर सञ्चालन भएको छैन । सरकार त्यो मेडिकल कलेज सञ्चालन गर्न तत्पर छैन । अहिलेसम्म कार्यविधि समेत बनेको छैन,’ उनले भने । खुटिया फास्ट ट्रयाक निर्माणमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्। देशका जुनसुकै कुनामा बस्ने नागरिकले पनि मेरो सरकार हो भन्ने अपनन्व महशुस गराउन सक्नुपर्ने उनले बताए।सांसद बलायरले संसद्मा राजनीतिक शक्तिहरूको गतिविधि हेर्दा अहिलेको संविधान नै जोखिममा परेको अनुभूति हुने बताए।