डडेल्धुरा। डडेल्धुराका एक जना सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १ मालमका सुरत तमोली सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा पक्राउ परेको प्रहरीले बताएको छ।
उनी विगत लामोसमयदेखि जथाभावी लेखेर सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै आएका तमोलीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहर भट्टले पत्रकार महासंघ डडेल्धुराले निवेदन दिएपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए।
पत्रकारको आत्मसम्मानमा ठेस पुग्ने र मानहानी हुने किसिमले पटकपटक स्टाटस लेख्ने र डडेल्धुराका पत्रकारलाई असुरक्षित बनाउने कार्य निरन्तर गर्दै आएकाले कानूनी कारबाहीको मागसहित महासंघले निवेदन दिएको थियो। तमोलीले यसअघि पनि पटकपटक जिल्लामा कार्यरत पत्रकारको चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा स्टाटस हाल्दै आएका थिए । पटकपटक सम्झाउँदा पनि नटेरेपछि बाध्य भएर निवेदन दिएको पत्रकार महासंघ डडेल्धुराका सचिव पुष्कर भण्डारीले जानकारी दिए ।