बाजुरा। बाजुराको हिमाली गाउँपालिकाको बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भूकम्प गएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डीएसपी सूर्यबहादुर थापाले बिच्छयाँ आसपास केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको बताएका छन्। उनका अनुसार जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका तथा बिछ्या क्षेत्र बिहीन भएको बताए।
भूकम्प गएको बिच्छयाँको बारेमा अहिलेसम्म कुनै पनि जानकारी नआएको उनको भनाई छ । भुकम्पका कारण बाजुराको गौमुल गाउँपालिका २ कि ३२ बर्षीय जमुना रोकायाको मृत्यु भएको थियो। जिल्लामा भूकम्पमा परेर दुई जना घाइते भएका छन्। जंगलमा भेडा चराइरहेका बेला भूकम्प जाँदा खसेको पहिरोमा परेर गौमुल गाउँपालिका–१, का रामदल बोहरा घाइते भएका प्रहरीले जनाएको छ। त्यस्तै हिमाली गाउँपालिका–६, मा भूकम्प गएका बेला भाग्ने क्रममा आत्तिएर एक महिला बेहोस् भएकी छन् । हुम्लाको ताजाकोट घर भइ दिदीको घर आएकी सरिता नेपाली बेहोस् भएकी हुन्।
उनको होस् खुलेको र गाउँको स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी थापाले बताए । जिल्ला भर हिमपात र पानी परिरहेको कारण जंगलमा भेडा चराउन गएका बेला माथिबाट भिर फुटेर पहिरो जाँदा ५० देखि ६० भेडा पनि मरेका छन्। भूकम्पले बाजुरा र बझाङमा बढी क्षति भएको छ । बाजुरामा ६५ वटा घरमा क्षति पुगेको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यमध्ये पाँच वटा घर पूर्णरुपमा भत्किएका छन् । त्यस्तै, २१ घर चर्केर आंशिक क्षति पुगेको र अन्य घरमा सामान्य क्षति पुगेको डीएसपी थापाले जानकारी दिए। सञ्चार बिहीन हुँदा बाजुराका अधिकांश ठाउँमा भौतिक संरचनामा ठूलो क्षति भएको भन्ने कुरा आए पनि यकिन तथ्याङ्क आइसकेको छैन।
भूकम्पका कारण बझाङका विभिन्न ठाउँमा ५७ वटा घर र ७ वटा सरकारी कार्यालय गरी जम्मा ६४ वटा घरमा क्षति भएको छ। साथै भूकम्पका कारण घाइते भएका जयपृथ्वी नगरपालिका–११ बस्ने ५२ वर्षीय हरिकृण्ण जोशीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। भूकम्पका कारण डोटी जिल्लाका विभिन्न वडाका ३ वटा कच्ची घरमा आशिंक क्षति पुगेको छ भने अछाम जिल्लाको विभिन्न वडामा ४ वटा घरमा क्षति पुगेको छ। त्यस्तै मुगु खत्याड गाउँपालिकाको विभिन्न वडामा २ वटा घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ भने ९ वटा घरमा आंशिक क्षति भएको छ। भूकम्प गएका स्थानमा तत्काल खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आवश्यक उद्दार कार्य गरिरहेको छ। बाजुरा केन्द्र बिन्दु भएर गएको भूकम्पको धक्का, बैतडी, बझाङ, अछाम, डडेल्धुरा लगायत सुदुरपश्चिमका जिल्लाका साथै कर्णाली र भारतमा समेत महसुस गरिएको थियो । यस्तै प्रहरीकाअनुसार पहाडी जिल्लामा हिमपात र वर्षाका कारण टेलिफोन सम्पर्क नहुँदा कतिपय वडाको अवस्थाबारे अझै जानकारी प्राप्त हुन सकेको छैन ।