बाजुरा। नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आज अपराह्न पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले भूकम्पले क्षतिका बारेमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरेका छन्।
आज दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला केन्द्रविन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। उनले यस विषयमा सभामुखको रुलिङ पनि माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद पाण्डेले उक्त माग गरेका हुन्। प्रतिनिधि सभाको बैठक चलिँहदा बाजुराको स्वामीकार्तिक गाउँपालिकाको मेला भन्ने ठाउँ जो कालीकोटको नजिक पर्छ, त्यसलाई केन्द्रबिन्दु बनाएर ५.९ रेक्टरको भूकम्प गएको छ।
क्षतिको विवरण आउन बाँकी छ। म सम्माननीय सभामुखमार्फत् आग्रह गर्न चाहान्छु सरकारले यस विषयमा जानकारी लिएर संसद्लाई के–कस्तो क्षति भएको छ जानकारी गराउन आग्रह गर्छु। त्यसका लागि म सम्माननीय सभामुख ज्यूको रुलिङको अपेक्षा गर्छु,’ सांसद पाण्डेले भने।बाजुरामा मंगलबार २ बजेर ४३ मिनेटमा ५.९ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी सूर्य थापाकाअनुसार अहिलेसम्म बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको विवरण आएको छ भने संकलन गर्ने काम भइरहेको छ।
हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्कीकाअनुसार वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएका छन्। अन्य वडामा टेलिफोन सम्पर्क हुन नसक्दा क्षतिको विवरण प्राप्त गर्न समस्या भएको छ। उनका अनुसार उद्दारका लागि प्रहरी परिचालन गरिएको र मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ।बझाङ सदरमुकाम चैनपुरमा रहेको सशस्त्र प्रहरीले प्रयोग गर्दै आएको कृषि ज्ञान केन्द्रको भवन भत्किएको छ। उक्त भवन र सदरमुकाम चैनपुरमा रहेको सन्तोष प्लाजाको छतमा बनाएको मन्दिर समेत भूकम्पले भत्काएको छ। बझाङमा केही अन्य घरहरुमा पनि क्षति र भौतिक संरचना सामान्य चिरा परेका छन्।भूकम्पका कारण के–कति क्षति भएको भन्ने यकीन विवरण प्राप्त भइसकेको छैन। यस्तै, बाजुराको गौमुल गाउँपालिकामा पहिरो जाँदा ४० भेडाहरु पुरिएको विवरण प्राप्त भएको छ।