डोटी। डोटीमा दादुरा सङ्क्रमण देखिएको छ। डोटीको केआईसिंह गाउँपालिका–४ चैनकेसैन गाउँमा आएका एक बालकमा दादुराको सङ्क्रमण देखिएको स्वास्थ्य संस्थाले जनाएको छ। दादुरा सङ्क्रमित बालक भेटिएपछि अन्य बालबालिकामा पनि सरेको हुन सक्ने आशङ्कामा वडा तथा गाउँभरीमा निगरानी थालिएको दुर्गामाण्डौ स्वास्थ्य चौकीले जनाएको हो।
कैलालीको गौरीगंगाका १८ महिने बालक डोटीमा रहेका आफन्तको घरमा आएका र उनमा दादुराको लक्षण देखिएको स्वास्थ्य चौकीले जनाएको छ। पुस २९ गते बालकको रगत नमुना परीक्षणका लागि धनगढी पठाइएकोमा आइतवार दादुरा पुष्टि भएको केआईसिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नवीन माझीले बताए। उनले दादुराको रिपोर्ट पोजेटिभ आएपछि बालकको खोजी गरेको बताए।
बालक माघ १ गते नै कैलाली फर्किसकेका र अन्यमा पनि दादुरा सरेको छ कि भन्नेर खोजी गरिरहेको उनले बताए। बालकमा दादुरा पुष्टि भएपछि उनी बसेको घर वरपर र छरछिमेकमा अन्य सङ्क्रमित भए नभएको खोजी भइरहेको स्वास्थ्यकर्मीले बताएका छन्।उनका अनुसार अहिलेसम्म त्यस्तो लक्षण कसैमा देखिएको छैन। दादुरा पुष्टि भएका बालकलाई दादुरा विरुद्धको खोप लगाइएको आफन्तले जानकारी दिएका छन्।