बाजुरा। बाजुराबाट रेफर गरिएकी गर्भवती महिलाको बाटोमा मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका १ पिनालेख बस्ने २६ वर्षीय जानकी विक लुवारको सोमबार राति बाटोमा मृत्यु भएको हो। जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन नसकी रेफर गरिएको जानकीलाई बसमा महेन्द्रनगर ल्याउदै गर्दा मृत्यु भएको उनका श्रीमान रमेश विकले बताएका छन्।
बाजुराबाट महेन्द्रनगरको दुरी ३१७ किलोमिटर रहेको छ । यहाँ सम्म पुग्न करिब १३ घण्टा लाग्छ । यति लामो दुरी बसमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने भन्दै बस चालकले महिलालाई अछामको बलयलपाटा अस्पताल लैजान सुझाव दिएका थिए ।महिलालाई व्यथाले च्यापेपछि अछाम र डोटीको सिमाना चौखुट्टे बाट चालकको सुझाव अनुसार महिलालाई जिप मार्फत बयलपाटा अस्पताल लगिएको थियो ।
तर, महिलाको अस्पताल नपुग्दै ज्यान गएको हो ।बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भएको बताए ।माघ ४ गते आफन्तले जानकीलाई बाजुरा अस्पतालमा परीक्षणका लागि ल्याएका थिए । अस्पताले सामान्य औषधि दिएर घर पठाएको थियो । जानकीलाई सुत्केरी व्यथाले च्यापेपछि ८ गते राति पनि आफन्तले अस्पताल पुराए ।अस्पतालले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न सुझाव दिएको थियो । सुविधा सम्पन्न अस्पताल पुग्न नपाउँदै जानकीले ज्यान गुमाइन् ।