काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।अहिले मुख्यमन्त्री रावल विश्वासको मत जुटाउन काठमाडौंमा दौडधुप गरिरहेका छन् । उनले यसअघि बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विश्वासको मतबारे छलफल गरेका थिए ।माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने अडान सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिएपछि मुख्यमन्त्री रावल सरकार ढल्ने चिन्तामा छन् ।
बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा एक अर्काबीच बधाई तथा शुभकामना अदान प्रदानसमेत भएको थियो। रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई न्युनतम २७ जना सांसदले विश्वासको मत दिनुपर्छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन नगरेको खण्डमा उनले विश्वासको मत पाउने सम्भावना छैन।शनिबार रावलले एमाले अध्यक्ष केपीशर्मा ओलीसँग भेटवार्ता गरेका थिए।रेशम चौधरीलगायत बन्दीहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायतका तीनबुँदे माग नागरिक उन्मुक्ति पार्टीको छ। यी माग पूरा नभएसम्म विश्वासको मत नदिने नागरिक उन्मुक्ति पार्टीले बताउँदै आएको छ।