काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। सुदूरपश्चिमले शनिबार सम्पन्न फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराएको हो । इटहरीको जनता मावि क्रिकेट मैदानमा प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले इनिङ्सको १ बल अगावै पूरा गरेको हो।
सुदूरपश्चिमलाई जितका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो। प्रदेश १ कि कप्तान रुविना क्षेत्रीलाई अन्तिम ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरेपछि सुदूरपश्चिमले जितेको हो । सुरुवात राम्रो गनै नसकेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले संहालेका थिए । सम्झनाले ३३ बलमा २ चौकासहित अविजित २७ रन बनाउँदा डलीले १६ बलमा १ चौका र २ छक्कासहित विष्फोटक २२ रनको योगदान गरिन् । कविता १९ रनमा अविजित रहिन्। बलिङमा सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १–१ विकेट लिए।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ५ विकेट गुमाएर १०१ रनको योगफल खडा गरेको थियो। ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुवाती साझेदारी गरेका थिए। रुविना १४ रन बनाएर आउट भएपछि आएकी अप्सरी बेगमसँग मिलेर काजलले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरिन। अप्सरी १५ रन बनाएर आउछ भइन् ।।त्यसपछिका ब्याटरहरुले राम्रो प्रदर्शन गर्न सकेनन्। काजल ४८ रनमा अविजित रहिन्। उनले ६३ बल खेलेर ८ चौका प्रहार गरिन्। प्रदेश १ ले १५ अतिरिक्त रन पाएको थियो। बलिङमा सुदूरपश्चिमकी मनिषा चौधरीले २ विकेट लिइन्। श्रतु कनोजियाले १ विकेट लिइन्। प्रदेश १ का दुई ब्याटर रनआउट भएका थिए। पुस २९ देखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफको सहभागिता थियो । सुदूरपश्चिमले अपराजित रहँदै प्रतयिोगिता जितेको हो । सेमिफाइनलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ११४ रनले पराजित गरेको थियो। सुदूरपश्चिमकी कविता कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनिन्।