सशस्त्र प्रहरी बल नेपालले ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरूको सरुवा गरिएको हो । सरुवासँगै सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक धन बहादूर सिहंको सशस्त्र प्रहरी बल ७ नम्बर बैद्यनाथ बाहिनि अत्तरिया कैलालीमा शरुवा भएको छ । सिहंको ठाउँमा सशस्त्र प्रहरी प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी उपरिक्षक रामहरी अधिकारी आउने भएका छन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जिम्मेवार प्राप्त नगरेका सशस्त्र प्रहरी उपरीक्षकलाई पहिलो प्राथमिकतामा राखेर सरुवा गरिएको जानकारी दिए । ‘एकपटक पनि कमान्डको जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमान्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरेका छौँ,’ उनले भने ।
एक मात्र कमान्ड गरी हाल कमान्डमा रहेका सशस्त्र प्रहरी उपरीक्षकलाई कमान्ड अवधि पूरा नभएसम्म कमान्डमा रहने गरी सरुवा गरिएको प्रवक्ता थापाले बताए । विगतमा सशस्त्र प्रहरी बल नेपालले पूर्वानुमान सूचीमै आधारित रही सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी), सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा प्रणालीसमेत कार्यान्वयन गरिसकेको जनाएको छ । आगामी दिनमा पनि सरुवा तथा बढुवा सूचीलाई अझ परिमार्जन र परिस्कृत गरी पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजाने प्रवक्ता थापाले बताए ।