बाजुरा। बाजुराको हिमाली क्षेत्रमा बर्षा संगै हिमपात भएको छ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण बाजुरामा हिमपात भएको हो। बादल संगै जिल्लाका उच्च हिमाली क्षेत्रमा पानी पर्न थालेको छ।
पहाडी क्षेमा भने जाडो बढेको छ।पूर्वी–उत्तरी भेगको ४ पालिका र बडीमालिका, बूढीनन्दा लगायत पर्यटकीय क्षेत्रमा हिमपात भइरहेको छ । जिल्लाको पूर्वी–उत्तरी भेगका हिमाली, स्वामीकात्तिक, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाका उच्च भागमा हिमपात भएको छ। हिमपातका कारण मार्तडी–कोल्टी सडकमा पर्ने पोरखे लेकमा पनि हिमपात भएको छ। हिमपातका कारण यहाँ चल्ने सवारीसाधनलाई आवतजावत गर्न समस्या भएको छ। बिहीवारदेखि मौसम बदलीसँगै चिसो बढ्न थालेको छ।
चिसो बढेपछि स्थानीय आगो ताप्न थालेका छन्। मौसम बदलीका कारण जिल्लाको तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ। चिसो बढेपछि स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ। हिमपात हुन लागेपछि कृषक खुशी भएका छन् ।जल तथा मौसम महासाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ। राति सुदूरपश्चिम र कर्णालीका एक वा दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ । दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।