काठमाडौँ। काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटना भएकोमा दुस्ख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। दुर्घटनाप्रति दाहालले दुःख व्यक्त गर्दै प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्।
दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन्। आइतबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको यतिको विमान पोखराको नयाँ गाउँस्थित दुर्घटना भएको हो । उक्त विमानमा ६८ यात्रु र चार चालक दलका सदस्यसहित ७२ जना सवार थिए। दुर्घटनास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ।यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एटीसी) पुगेका छन्।
पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थित बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा गएर आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको छ ।‘प्रधानमन्त्री आफैंले उद्धार तथा प्राविधिक कुरा बुझ्न विमानस्थल हिँड्नु भएको छ । उहाँले त्यहीँ बसेर घटनाको जानकारी लिनुहुन्छ,’ सचिवालयले भन्यो। प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक समेत बोलाइसकेका छन् ।गृहमन्त्री रबि लामिछाने पनि विमानस्थल पुगेका छन् ।