धनगढी। सुदूरपश्चिममा सभामुखको निर्वाचनकालागी सर्वदलीय बैठक बस्न ढिलाई भएको छ। आज हुने सभामुख सभामुखको निर्वाचनको लागि १ बजे प्रदेश सभाको बैठक बोलाइएपनी स्थगित भएको र अहिले पुन बस्ने तयारी गरिएको प्रदेश सभा सचिब देव बहादुर बोगटीले बताए। यसै बिषयमा छलफल गर्न अहिले साढे २ बजे सर्वदलीय बैठक बस्ने तयारी भइरहेको उनले बताए। दिउँसो १ बजेकालागि तोकिएको बैठक स्थगित भएर अहिलेसम्म बसेको छैन्।
सत्तारूढ दलले निर्वाचन समय सार्न अनुरोध गरेका कारण प्रदेश सभाको समय सरेको जनाइएको छ। यद्दपी कांग्रेसले यसमा विरोध जनाएको छ। आजको प्रदेशसभामा सभामुख चयनका लागि निर्वाचन हुने कार्यतालिका रहेको थियो । सुदूरपश्चिम प्रदेशसभाको सभामुखको लागि सत्तारुढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मनोनयन दर्ता गराएका छन्। भण्डारीलाई सत्तारुढ गठबन्धनका एमालेका १०, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका एक गरी २९ जना प्रदेशसभा सदस्यको समर्थन छ भने रावललाई कांग्रेसका १९ जनाको समर्थन छ। नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि रावललाई मत दिने सम्भावना छ।