कैलाली। सुदूरपश्चिम प्रदेशमा आज सभामुखको मनोनयन दर्ता हुने भएको छ। सत्ता गठबन्धनबाट सभामुख माओवादी केन्द्रको भागमा परेपनि अहिलेसम्म माओवादीले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गर्न सकेको छैन। सुदूरपश्चिममा माओवादीबाट आधा दर्जन नेता सभामुखको आकांक्षी छन्। अन्तिम समयमा अक्कल रावल र भीम भण्डारीमध्ये कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय हुन सकेको छैन।
रावल अछामबाट र भण्डारी बझाङबाट प्रदेश सभामा निर्वाचित भएका हुन्। रावल प्रदेश सभामा दोस्रो पटक निर्वाचित हुन्। यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका उनी अहिले सभामुखको लबिइङमा छन्।अघिल्लो पटक बझाङबाट एक मात्र महिला सांसद देवकी मल्ल निर्वाचित भएकी थिइन्। उनले कुनै पनि पद पाइनन् । एक मात्र महिला निर्वाचित हुँदा पनि कुनै पद नदिएर बझाङलाई विभेद गरेको आरोप लागिरहेका बेला भण्डारीलाई सभामुख दिएर त्यो आरोप मेटाउने दाउमा पनि माओवादी रहेको बताइन्छ । तर, अहिले यस विषयमा कुनै निर्णय नभएको माओवादी प्रदेश इन्चार्ज खगराज भट्टले जानकारी दिए।
आकाङ्क्षीहरू धेरै हुनुहुन्छ उम्मेदवारबारे निर्णय भएको छैन। बिहान सम्म तपाइहरूले उम्मेदवारको नाम थाहा पाउनुहुन्छ उनले भने ।हिजो पनि यस विषयमा पार्टी नेतृत्वसँग माओवादी केन्द्रले छलफल गरेको थियो । आज पनि बिहान छलफल गरेर टुङ्गो लगाउने माओवादी स्रोतको दाबी छ।प्रदेश सभा सचिवालयले प्रकाशित गरेको तालिका अनुसार आज १०:३० देखी २:३० सम्म सभामुख पदमा निर्वाचन गरियोस् भनी प्रस्ताव दर्ता हुने छ। सोही दिन उम्मेदवारको नामावली प्रकाशन, दाबी विरोध, फिर्ता र अन्तिम नामावली सार्वजनिक हुने छ।आजै अन्तिम नामावली प्रकाशन गरेर भोलि दिउँसो १ बजे निर्वाचन गर्ने तयारी प्रदेश सभा सचिवालयले गरेको छ।