काठमाडौं। सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबीगर्ने अन्तिम एकदिन मात्रै बाँकी रहँदा कांग्रेसले सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरेको छ। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्ने भोलि अर्थात बुधबार अन्तिम दिन पनि हो।
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशको सरकार बनाउन नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरेको हो। नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालयको जिम्मेवारी लिनसमेत प्रस्ताव गरेको छ। डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेटेर कांग्रेस नेताहरूले सो प्रस्ताव गरेका हुन्।
कांग्रेसले हामीलाई सरकार बनाउन र उपसभामुखसहित तीन मन्त्रालयको प्रस्ताव गरेको छ ती नेताले भनेका छन्। ती नेताका अनुसार नागरिक उन्मुक्तिले यसबारे भोलि बुधबार निर्णय लिनेछ। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्ने भोलि अन्तिम दिन पनि हो। यद्यपि नागरिक उन्मुक्ति पार्टीले संघमा गठबन्धनलाई समर्थन गरेको छ।‘हामीले नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा पनि सरकारमा सहभागी हुन सकिन्छ, मुख्यमन्त्री लिनुस् बाँकी पदहरूमा नेकपा एकीकृत समाजवादीलाई समेत सरकारमा लैजाने गरी सहमति गरौँ भन्ने प्रस्ताव पठाएका छौ ’,सुदूरपश्चिमका एक काँग्रेस नेताले भने ।
सुदूरपश्चिम प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता कमल शाहले नागरिक उन्मुक्ति पार्टीसँग विभिन्न कोणमा छलफल भइरहेको बताए । काँग्रेसको सुदूरपश्चिम प्रदेशका महामन्त्री तथा प्रदेशसभा सदस्य मेघराज खड्काले मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिने प्रस्ताव पठाएको कुरा साँचो भएको बताए । काँग्रेसको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीले भने जवाफ दिइसकेको छैन । रेशम चौधरीको रिहाइ नगरेसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा कसैलाई समर्थन नगर्ने नीति नागरिक उन्मुक्तिले लिएको हो।