काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार फेरिइरहने तर जनताको जीवनस्तर नफेरिने चित्र बदल्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले सार्वजनिक सेवा सुधार गर्ने प्रतिबद्धता जनाए। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विभिन्न सरकारी निकायमा देखिएका बेथिति र ढिलासुस्तीमा सुधार गर्ने प्रतिबद्धता जनाएका हुन्। विभिन्न सेवा लिन लामा लाइन लाग्ने गरेको उल्लेख गर्दै हरेक नागरिकले सरकार आफ्नो अभिभावक महसुस हुनेगरी काम गर्ने बताए।उनले भने, सरकार मालिक होइन, जनताको सेवक बन्नुपर्छ।
सरकारहरू फेरिररहने तर जनताको जीवनस्तर नफेरिने चित्र अब बदल्नु छ । सरकार अब सुनिने, देखिने,जनताले अनुभव गर्ने सेवक बन्नु छ । प्रदेश र संघमा आवश्यक कर्मचारी थप्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यातायात व्यवस्था सेवा, सामुदायिक विद्यालय, सरकारी अस्पतालमा देखिएका समस्या तत्काल समाधान गर्ने बताए ।