काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफूहरुलाई प्राप्त भएको मत निराशाको नभएर नेपाली जनताले दिएको आशाको मत भएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका अध्यक्ष लामिछानेले आफूहरुलाई स्याबासीसँगै निराशाको मत पाएको भनेर लाञ्छना लागे पनि प्राप्त मत आशाको मत भएको बताए ।
घण्टीको ध्वनिलाई संसद्ले सुन्नेछ भन्ने विश्वास राख्दछु। हामीलाई स्याबासीसँगै निराशाको मत पाएको भनेर लाञ्छना लाग्ने गर्छ,लामिछानेले भने,निराशाको मत हैन आशाको मत हो । यो आशाको मत हाम्रो दलका लागि मात्रै हैन। सबै राजनीतिक दलहरुबाट गरिएको आशाको मत हो। लामिछाने नेतृत्वको घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले गत मंसिर ४ गतेको निर्वाचनबाट संघीय संसद्मा २० सिट जितेको थियो । उक्त निर्वाचनमा नेपाली जनताले जानेर वा नजानेर असाध्यै राम्रोसँग मत दिएको उनको भनाइ थियो। हामीलाई पनि नमात्तिने गरी मत दिनुभएको छ। पुराना दलहरुलाई पनि अब चाही सच्चिनु होला भनेर दिनु भएको छ। यो मतलाई हामीले स्वागत गर्नुपर्ने उनले भने ।
लामिछानेले जनमत अनुसार नै सरकार बनेको पनि बताए। सोही अनुरुप जनजीविकाको समस्या समाधानका लागि साझा न्यूनतम कार्यक्रम ल्याइएको पनि उनको भनाइ थियो । त्यही कार्यक्रम अनुसार सरकार बनेको र जनजीविकाको सवालमा खरो भएर काम गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री लामिछानेले प्रतिपक्षी दलले रचानात्मक ढंगले सल्लाह र सुझाव दिने अपेक्षा गरेको भन्दै उनीहरूबाट अड्काउने नभएर सघाउने काम हुनेमा आफू विश्वस्त भएको बताए।
यस्तै उनले आफूहरूले जनताको पिरमर्का सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर आफूहरू आफ्नै पिरमर्कामा अड्किन नहुने लामिछानेको भनाइ थियो । भ्रष्टाचारमा फसेका आफ्ना मान्छेलाई छुटाउनका लागि यो संसद्मा उपस्थित कसैले पहल गर्नु हुँदैन । यो संसद्मा उपस्थित कसैले अनियमिततामा संलग्न हुनु हुँदैन । म मेरो छातीमा हात राखेर हाम्रो पार्टीका कोही पनि अनियमिततामा संलग्नु हुने छैनन् र भए भने निर्ममभन्दा निर्मम सजाय भोग्न तयार छौं भन्न चाहन्छु, लामिछानेले भने। उनले आफूहरू सरकार बनाउनका लागि मात्रै सरकारमा सामेल नभएको तर दुई शीर्ष नेताले त्यसप्रति गरेको प्रतिबद्धताका कारण मात्रै सामेल भएको पनि बताएका थिए। उनले भनेका थिए, हामी जनताको अपेक्षाभन्दा फरक किसिमको कुनै काम कारबाही भए सरकार वा पदमा बसिरहने छैनौं । म प्रधानमन्त्रीलाई यो रोस्टमबाट यो कुरा स्पष्ट राख्न चाहन्छु।