बैतडी। बैतडीको जनप्रिय आधारभूत विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिका वडा नंम्बर ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा अनियमितता भएको भन्दै अभिभावकहरुले तालाबन्दी गरेका छन्। विद्यालयमा अभिभावकहरुले शुक्रबार तालाबन्दी गरेको बताएका छन्।
विद्यालयका प्रधानाध्यापक गुणा बोहराले अनियमितता गरेको अभिभावकहरुले आरोप लगाएका छन्। अभिभावक मदन लुहारले पछिल्लो समयमा विद्यालयमा अनियमितता बढ्दै गएको, शैक्षिक गुणस्तर कमजोर हुँदै गएकाले समस्या समाधानको पहलका लागि सम्बन्धित निकायलाई दबाब दिन तालाबन्दी गरेको बताए ।विद्यालयमा देखिएको समस्या समाधानका लागि गाउँपालिकालाई समेत आग्रह गरेको लुहारले बताए।
तर विद्यालयमा देखिएको समस्या समाधानका लागि पालिकाले समेत चासो नदेखाएको स्थानीयहरुले आरोप लगाएका छन्। विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रममा समेत अनियमितता भएको अभिभावकहरुको आरोप छ। यता गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले विद्यालयमा देखिएको विवादका बिषयमा छलफल गरेर समस्याको समाधान गरिने बताए। विद्यालयमा देखिएको विवादका बिषयमा नियमसंगत तरीकाले छलफल गरेर अघि बढ्ने उनले बताए। विद्यालयमा तालाबन्दी गर्नु उचित कार्य नभएको उनको भनाइ छ। विद्यालयमा व्यवस्थापन समितिले प्रधानाध्यापक परिवर्तन गरेपछि विवाद आएको उनीहरुको भनाई छ।