धनगढी। कैलालीमा विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले दार्चुला लेकम गाउँपालिका-१ बस्ने ३५ वर्षीय पदमराज भट्टलाई पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान धनगढी उपमहानगरपालिका-३ बाट पक्राउ गरेको हो।
प्रहरीकाअनुसार उनी ठगीका नटवरलाल हुन्। कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ। उनीविरूद्ध थुप्रै उजुरीहरू आएपछि प्रहरीले उनको खोजी गरी पक्राउ गरेको हो। कैलालीका एसपी देवेन्द्र पालका अनुसार उनी भाडाका गाडी चढ्थे। भाडामा लिएको गाडी र नयाँ कपडाहरू लगाएर उनले विभिन्न व्यक्तिहरूलाई लोभ्याउने गर्थे। ‘सुरूमा बैंक तथा संघ संस्थाको हाकिम हुँ भनेर लोभ्याउने रहेछन्। महंगा गाडीहरू भाडामा लिने, आफू ठूलो मान्छे हुँ भनेर प्रस्तुत हुने देखियो,’ एसपी पालले भने।
एसपी पालका अनुसार उनले एकल महिलाहरूलाई निशानामा राख्थे। उनी आफैं ठूलो मान्छे हुँ भन्ने विभिन्न बहाना बनाएर उनले ती महिलाहरूसँग नजिकिन्थे।‘विश्वास दिलाएपछि उनले ती महिलाहरूसँग विवाहको नाटक समेत गर्ने गरेको देखियो। यसो गरेपछि उनले ती महिलाहरूको विभिन्न अश्लिल भिडिओहरू समेत बनाउने र फकाएर हुन्छ कि कसरी हुन्छ पैसा लिने गरेको भेटियो,’ उनले भने, ‘त्यसपछि पैसा लिएर फरार हुने उनको प्रकृति देखियो।
२,४ लाख जति भेट्छ त्यति ठग्ने गर्थे।’यसैगरी उनले थुप्रैलाई ठगी गरेको प्रहरीको भनाइ छ। यद्यपि अहिलेसम्म कति जनालाई उनले ठगीसकेको यकिन विवरण नभएको एसपी पालले बताए।कार्यालयमा जाहेरी आउने क्रम जारी नै रहेको उनले बताए। कैलालीमा मात्रै नभएर कञ्चनपुरमा समेत उजुरी परेको छ। उनी ठगी मुद्दामा यसअघि पनि पक्राउ परिसकेका व्यक्ति हुन्। एसपी पालका अनुसार यसअघि पनि दुई वर्ष ठगी मुद्दामा जेल समेत बसिसकेका छन्।उनीबाट पीडित भएका कोही भए प्रहरीको सम्पर्कमा आउन पनि कार्यालयले अनुरोध गरेको छ।थप समाचार पढ्नुहोस्
बिभिन्न प्रलोभन पारेर करोडौं ठगी गरिसकेका यी ब्यक्ती, प्रहरीद्धारा पक्राउ गर्न ढिलाई