बैतडी। बैतडीमा शिक्षक धनबहादुर बिष्टका हत्या प्रकरणका आरोपीमाथि अनुसन्धानकालागि म्याद थपिएको छ। बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भएका शिक्षक धनबहादुर बिष्टको हत्या आरोपमा पक्राउ परेका प्रजा बोहरा र बिमला बोहरामाथि थप अनुसन्धानका लागि १० दिनको म्याद थपिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले कृष्ण मावि पाटनमा पढाउँदै आएका शिक्षक बिष्टको हत्या आरोपमा पक्राउ परेका बोहरा दम्पतीमाथि थप अनुसन्धानका लागि सोमबार अदालतबाट १० दिनको म्याद थप भएको बताए । हत्या आरोपी दुवैजनामाथि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताएका छन्।
यही पौष १ गते राति शिक्षक बिष्टको हत्या गरेको अभियोगमा कृष्ण माविको छात्राबास बसेर पढ्दै आएकी बिमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई प्रहरीले पौष ७ गते सार्वजनिक गरेको थियो ।
पौष २ गतेका दिन शिक्षक बिष्टको शव छात्राबास पछाडी फेला परेको थियो। बोहरा दम्पतीले प्रहरी समक्ष शिक्षक बिष्टको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । शिक्षक बिष्टको हत्या भएको भन्दै आफन्तहरुले बैतडीमा आन्दोलन समेत गरेका थिए।