काठमाडौँ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सांसदमा निर्वाचित प्रेम आले र माया राईलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आले र राईले सांसद पदको शपथ लिएका हुन्।
संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार यसअघि शपथ लिन नसकेका दुवैले मंगलबार दिउँसो साढे १२ बजे शपथ लिएका हुन्। सांसदहरूको शपथ पुस ७ गते भएको थियो। आमाको निधन भएकाले डोटीबाट निर्वाचित सांसद आलेले शपथ लिन सकेका थिएनन्। उनी एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। कांग्रेस सांसद माया राई भने सुत्केरी भएकाले शपथ लिन सकेकी थिइनन्।