कञ्चनपुर। कञ्चनपुरमा नदीजन्य पदार्थ उत्खननविरुद्ध स्थानीय आन्दोलित भएका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन कार्य अघि बढाएपछि स्थानीय आन्दोलित भएका हुन्।
नगरपालिकाले आव २०७८/७९ मा नदीजन्य पदार्थबाट रोयल्टी संकलनका लागि सुनबरा नदी, वनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्ट्रक्सन प्रालिसँग रु ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ । तटीय क्षेत्रका स्थानीयले नदी कटानी नियन्त्रण सुनिश्चितता नहुँदासम्म उत्खनन गर्न नदिन रुकुमसिंह ठगुन्नाको संयोकत्वमा संघर्ष समिति गठन गरेका छन्।उत्खनन क्षेत्र शुक्लाफाँटा नगरपालिका– ८ का स्थानीयले त्यसविरुद्ध आन्दोलन सुरु गरेका हुन्।
नदीजन्य पदार्थ उत्खननपीडित संघर्ष समितिको अगुवाइमा आइतबारदेखि आन्दोलन सुरु गरिएको हो। उनीहरूले आइतबार ८ नम्बर वडा कार्यालय घेराउ गरेका छन्। नदीजन्य पदार्थ उत्खनन पीडित संघर्ष समितिका संयोजक ठगुन्नाले प्रभावित क्षेत्रका नागरिकले बसोवासको उचित व्यवस्थापन नगर्दै सुरु गरिएको उत्खनन कार्यविरुद्ध बाध्य भएर आन्दोलन गर्नुपरेको बताए। ‘सो क्षेत्रमा वर्षौँदेखि जैविक तटबन्धन बनाएर बस्ती जोगाएका बताउँदै उनले ‘नगरपालिकाले अहिले एक्कासि उत्खनन गरिरहेको बताए। संयोजक ठगुन्नाले तटबन्ध निर्माण गरिनुपर्ने, सडक कालोपत्रे गरिनुपर्ने, रोयल्टीबापत ५० प्रतिशत रकम समुदायलाई दिनुपर्ने र समग्र बस्तीको सुरक्षाका लागि योजना अघि नबढाएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।
‘हाम्रो आन्दोलन कुनै व्यक्ति, जनप्रतिनिधिविशेषविरुद्ध नभएको उनले भने। समग्र गाउँबस्तीको विपत् जोखिम न्यूनीकरणका लागि हो। नगरपालिकाले सुनबरा, वनहरा अखौनीसहितका खोलाबाट ढुंगा, गिटी र वालुवाबापत रोयल्टी संकलनका लागि गणपति कन्स्ट्रक्सन प्रालिलाई ६८ लाख १३ हजारमा ठेक्का दिएपछि स्थानीय आन्दोलित भएका हुन्। आज हामीले वडामा आन्दोलन गरेको, भोलि नगर्ने र यसबीचमा हाम्रो माग सम्बोधन नभए मंगलबारदेखि नगरपालिका केन्द्रित आन्दोलनगर्ने बताए। नगरपालिकाले अघि सारेको नदीजन्य पदार्थ उत्खनन कार्यको केही राजनीतिक दल एवं पूर्व तथा हालकै जनप्रतिनिधिसमेत सन्तुष्ट छैनन्। शुक्लाफाँटा नगरका निवर्तमान प्रवक्ता जगतबहादुर सिंहले वडालाई अग्राधिकारसहित उत्खनन गर्नुपर्ने बताए।
‘नगरपालिकाले अघि बढाएको योजना ठीक छ। तर, स्थानीयको मूलभूत कटानीको समस्या पनि समाधान गर्नुपर्ने जनताको जाजय माग सम्बोधन गर्नुपर्ने सिंहले बताए । वडा नम्बर ८ का अध्यक्ष बहादुरसिंह महराले स्थानीयले अघि सारेका माग नगरपालिकामा जानकारी गराउने बताए। शुक्लाफाँटा नगरका मेयर रणबहादुर महराले यसअघि उक्त खोलानालाबाट अवैध रूपमा उत्खनन भइरहेको बताउँदै यसपटक वैधानिक रूपमा नगरपालिकाले आन्तरिक आयका लागि ठेक्का लगाएको बताए। मेयर महराले स्थानीय जनताले अघि सारेका माग सम्बोधन गरिने बताए। ‘सो गाउँमा सडक, तटबन्ध विकासका लागि म प्रतिबद्ध छु,’ मेयर महराले भने, ‘अब ठेक्का लागिसक्यो, यसमा नगरवासीले पनि सहयोग गर्नुपर्यो, म जनताकै साथमा छु।’ तर, स्थानीयले भने माग सम्बोधन नभए एकमुठी मात्र ढुंगा–बालुवा पनि उठाउन नदिने चेतावनी दिएका छन्।