धनगढी। सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरु अहिले केही बेरमा शपथका लागि तयारीमा रहेका छन्। प्रदेशसभाका ज्येष्ठ सांसद मानबहादुर रावलले दिउँसो १ बजे प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले दिउँसो साढे १ बजे अन्य ५२ जना सांसदलाई शपथ ग्रहण गराउने छन्। प्रदेश सभा भवनमा शपथग्रहणका लागि संसद्हरु पुग्दैछन्।
उनीहरु विभिन्न संस्कृति झल्किने पोसाकमा उपस्थित भएका छन्। नागरिक उन्मुक्ति पार्टीका पाँच जना र नेपाली कांग्रेसकी समानुपातिक सांसद गीता चौधरीले मातृ भाषामा शपथ ग्रहणका लागि नाम टिपाएका छन्। अन्यले नेपाली भाषामै शपथ ग्रहण गर्नेछन्।सुदूरपश्चिममा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। प्रदेशमा ३२ प्रत्यक्ष र २१ समानुपातिक गरेर ५३ जना प्रदेश सभा सदस्य निर्वाचित हुने व्यवस्था छ।