काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। मन्त्रालय बाँडफाँट र प्रदेशको नेतृत्वलगायत विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुमलटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको बाँडफाँट, प्रदेशका मुख्यमन्त्री र मन्त्रीको टुंगो लगाउने विषयबारे छलफल गर्न अध्यक्ष ओली प्रधानमन्त्री दाहालको निजी निवास खुमलटार पुगेका हुन्।
पछिल्लो पटक दाहालसहित असन्तुष्ट रहेका नेताहरूले जारी गरेको १९ पृष्ठको आरोपपत्र फिर्ता लिन भन्दै २०७७ पुस ४ गते अध्यक्ष ओली दाहाल निवास खुमलटार पुगेका थिए ।सत्ता साझेदार दुई दल माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारसहित राजनीतिक, समसामयिकलगायतका विषयमा कुराकानी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।उक्त भेटमा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउने विषयमा पनि छलफल भएको छ।