धनगढी। नेपाल वायुसेवा निगमले सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली जिल्लामा उडान थप गरेको छ। नेपाल वायुसेवा निगमले सुदूरपश्चिम प्रदेशको एक र कर्णालीका चार गरी ५ जिल्लामा उडान थप गरेको हो। निगमको क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठले यात्रुको चाप वृद्धि र भरपर्दो सडक यातायात नभएका कारण उडान थप्नुपरेको बताए।
बाजुराको कोल्टी विमानस्थलमा सोमबार र बुधबार उडान हुने श्रेष्ठले जानकारी दिए। यस्तै हालसम्म सडक यातायात नजोडिएको हुम्लाको सिमकोटमा सातामा दुई उडान भइरहेकामा एक उडान थप गरिएको छ। सिमकोटका लागि आइतबार, सोमबार र मङ्गलबार उडान हुनेछ। अन्य चार जिल्लामा सातामा एक उडान भइरहेकामा अब दुई उडान हुनेछन्।नेपालगञ्जबाट जुम्ला सोमबार र मङ्गलबार, मुगुको ताल्चा आइतबार र मङ्गलबार, डोल्पाको जुफालमा सोमबार र बुधबार उडान हुने श्रेष्ठले जानकारी दिए।यसअघि निगमको जहाज हप्तामा एक रात नेपालगञ्जमा रहँदै आएकोमा अहिले भने तीन दिन बस्दै आएको थियो।