काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन्। यो दाबी पेश गर्न नेकपा माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका नेताहरु शितल निवास पुगेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार भएर चुनाव जितेका कांग्रेसका पूर्व नेता अमरेशकुमार सिंह, पूर्व एमाले नेता प्रभु साह पनि शितल निवास पुगेका छन् । दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने पक्कापक्की भएको छ।राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो।
त्यसैगरी जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने खवर आएको ढकालले बताए ।‘पत्रसहित सम्बन्धित नेताहरु आउने क्रम शुरु भएको छ’ ढकालले भने, ‘पत्र हेरेपछि राष्ट्रपतिज्यूले केही न केही निर्णय गर्नुहुनेछ । सम्भवतः ५ बजेभित्र केही विज्ञप्ति आउला ।’ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण त्यसपछि तय हुने उनले बताए । उनका अनुसार, सम्भवतः आज शपथ ग्रहण हुदैन ।