कैलाली। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा रामेश्वर चौधरीलाई चयन गरेको छ। नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । जस अनुसार रामेश्वर चौधरी सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेतामा चयन भएका हुन्। रामेश्वर कैलाली क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।
यस्तै, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरी चयन भएका छन्। यस्तै, नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यको जिम्मेवारी बाँडफाँट गरेको छ । काठमाडौंमा २ दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले जिम्मेवारी बाँडफाँट गरेको हो। केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार प्रतिनिधिसभामा संसदीय दलको नेताको रुपमा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको हो।
लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई छनोट गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ। टीकापुर घटना मुद्दामा जेल सजाय भोगिरहेका रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा ४ सिट जितेको छ । पार्टीकै समर्थनमा बर्दिया निर्वाचन क्षेत्र नं। २ बाट स्वतन्त्र चुनाव जितेका रेशमका बुवा लालवीर चौधरी हालै जनमुक्ति पार्टीमा प्रवेश गरेका छन्। प्रदेशतर्फ जनमुक्ति पार्टीले प्रत्यक्षमा ७ सिट जितेको छ । यससँगै जनमुक्ति पार्टीले प्रतिनिधिसभामा ४, सुदूरपश्चिम प्रदेशमा समानुपातिकसहित ७, लुम्बिनी प्रदेशमा समानुपातिकसहित ४ र मधेसमा १ गरी जम्मा १६ सिट जितेको हो ।