काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्का दाबेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग सरकार गठनबारे अन्तिम छलफल गर्न लागेको बताएका छन् । गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री दाबी गरिरहेका उनले देउवासँग अन्तिम कुरा राख्ने बताए ।
आइतबार बिहान १० बजे बालुवाटार जानू पहिले पार्टीका पदाधिकारीहरूसँगको छलफलमा दाहालले पहिलो चरणमा प्रधानमन्त्री दिने कि नदिने भन्ने विषयमा अन्तिम कुरा हुने बताएका थिए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पदाधिकारी बैठकमा भएको कुराकानीबारे भने, राष्ट्रपति र प्रधानमन्त्री कांग्रेसलाई नै हुने अवस्था हुन्न। गठबन्धन भनेपछि पहिला प्रधानमन्त्री हामीले पाउनुपर्छ। यो विषयमा देउवासँग अन्तिम कुरा राख्ने भनेर जानुभएको छ।
पदाधिकारीले प्रधानमन्त्री पहिलो चरणमा माओवादी नहुने भए गठबन्धन गरिराख्नुको औचित्य नभएको सुझाव दिएको पनि पौडेलले जानकारी दिए । गठबन्धनलाई निरन्तरता दिने हो भने शीर्ष पदहरू बाँडफाँट गर्नुपर्ने माओवादीको धारणा छ। अहिले बालुवाटारमा देउवा, दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरू छलफलमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२)अनुसारको सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।