बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्याका आरोपमा पक्राउ परेका नौ जनालाई जिल्ला अदालत बाजुराले पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायधिश ढाकाराम पौडेलको एकल इजलासले अयडीको हत्यामा पक्राउ परेका नौ जनालाई थप अनुसन्धानका लागि पुर्पक्ष थुनामा राख्न आदेश दिएको जिल्ला अदालत बाजुराका श्रेष्तादार पुष्पराज पाण्डेले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार किटानी जाहेरी परेका २४ जना मध्ये १० जनालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको छ। घटनाका अन्य फरार १४ जना आरोपीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका १० जना मध्ये घटनामा संग्न रहेका एक जना उपचारको क्रममा रहेकाले नौ जनालाइ मात्र अदालत पेश गरेको थियो। मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत नौ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको पाण्डेले बताए।
सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो। जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३५ दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारी गरेको छ। मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावको दिनमा काँग्रेस निकट रहेको नेपाल विद्यार्थी संघका नेता र प्रहरी बीच विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो। मतदान सकिएको बेला मतपेटीकाको मुचुल्का बनाउने क्रममा केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर नेविसंघका नेता सञ्जिव अयडीको मृत्यु भएको थियो।
प्रहरी निरिक्षक इश्वर थापाले हानेको गोली छातिमा लागेर घटना स्थलमै मृत्यु भएको थियो। सञ्जिवको मृत्युपछि चेतनको घरमा पुगेर चेतनलाइ कुटपिट गरि हत्या गरेका आफन्तको आरोप रहेको छ। घटना भएको महिना दिन बितिसक्दा पनि दोषी कानूनी दायरामा नआएको भन्दै बाजुरामा अनेरास्ववियु आन्दोलित भएको छ।उनीहरुले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैरसरकारी कार्यालय बन्द गराएका छन्।महिना दिन बित्दा पनि अभियुक्त पक्राउ नगरी प्रहरीले चरम लापरबाही गरेकोले यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएको अनेरास्ववियुका लक्ष्मण रोकायाले बताए। अयडीको लागि न्यायको माग गर्दै अनेरास्ववियुले बाजुरामा यातायात सेवा अनिश्चितकालका लागि बन्दको आह्वान गरेको छ।