काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यस निर्णयलाई मान्य नहुने बताएका छन् ।बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने चेतावनी दिए।
माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले बुधबार यी विषयमा संस्थागत निर्णय हुनुपर्ने उल्लेख गरे । ‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ,’ उनले भने, ‘होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’‘संसदीय दलको नेताले नै निर्णय गर्ने हो, तर दलको नेताले प्रस्ताव गर्नुहुन्छ, संसदीय दलमा छलफल हुन्छ, पार्टीको सम्बन्धित कमिटीमा छलफल हुन्छ।
’ राष्ट्रपति पदका सन्दर्भमा पनि खुला र पारदर्शी छलफल गरेर मात्र निर्णय गर्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘चाहे आलोपालो होस्, चाहे राष्ट्रपतिका सन्दर्भमा होस्, कांग्रेसको कुनै पनि निर्णय पारदर्शी भएन, सम्बन्धित कमिटीमा छलफल भएन भने व्यक्तिगत निर्णयका रुपमा दर्ज हुन्छ ।’संसदीय दलको नेतामा पराजित भएपछि थापाले प्रतिक्रिया दिँदै अब स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गरे ।थापाले कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए । बुधबार सम्पन्न कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा ६४ मत ल्याएर विजयी भए भने थापाले २५ मत ल्याए । उनले आफ्नै समूहको मतसमेत पाएनन् ।