काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि सोमबार भएको चुनावको मतदान सकिएको छ। ८८ जना सांसदले मतदान गरेका छन्। सिहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ बजे १० बजेसम्म मतदानको समय तोकिएको थियो । सांसद माया राई सुत्केरी भएर अस्पतालमा रहेकाले उनलाई त्यहीबाट मतदान गर्ने व्यवस्था मिलाईएको थियो।
कांग्रेसका ८९ जना सांसद भए पनि टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन्। बुथमा मोबाइल लैजान दिने/नदिने भन्ने विषयमा विवाद हुँदा मतदान केही समय ढिलो सुरु भएको थियो । मोबाइल लैजान नदिने सहमति भएसँगै मतदान सुरु भएको थियो । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा सिधा स्पर्धामा उत्रिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा ७८ वर्षीय देउवा र ४६ वर्षीय थापाले मंगलबार सँगै उम्मेदवारी दर्ता गराएका थिए।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन्। यसपटक ८९ जना सांसद छन्। संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही प्रधानमन्त्री बन्ने अभ्यास छ ।मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । लिस्टमा नाम हेरेरमात्र मतदातालाई कार्यालयभित्र छिराइएको थियो भने पत्रकारलाई भित्र जान निषेध गरिएको थियो ।