बैतडी –बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि संघर्ष समिति गठन गरिएको छ। पाटनमा पीडित परिवार, शिक्षक, विद्यार्थी लगायतको आज बसेको भेलाले लिला बिष्टको संयोजकत्वमा ४१ सदस्यीय संघर्ष समिति गठन गरेको हो। सो समितिको सहसंयोजकमा सिलंगा माविका प्रधानाध्यापक लक्ष्मण बोहरा सहसंयोजक रहेका छन्।
यस्तै शिक्षक बिष्ट मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि शान्तिपूर्ण धर्ना दिने कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको छ । पाटन नगरक्षेत्र भित्रका विद्यालय भोलि(बुधबार) पनि बन्द रहने निर्णय गरिएको छ । यस्तै पाटन नगरपालिकामा ज्ञापन पत्र बुझाएर तालाबन्दी गर्ने र भोलिदेखि अर्को निर्णय नभए सम्मका लागि यातायात बन्द गर्ने संघर्ष समितिले जनाएको छ ।यस्तै घटनाको विरोधमा पाटन नगरपालिका क्षेत्र भित्रका सबै बजार बन्द गर्ने निर्णय समेत भएको संघर्ष समिति सहसंयोजक लक्ष्मण बोहराले बताए।यस्तै बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ । १५ शैय्याको अस्पताल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र भएकै ठाउँमा बनाउनुपर्ने माग गर्दै तालाबन्दी गरिएको हो ।
सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर गएको शनिबार मृत अवस्थामा फेला परेका थिए । कृष्ण माविको छात्रवास भवन पछाडि उनी मृत अवस्थामा फेला परेका हुन् । एक दिन अगाडि एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका बिष्ट भोलिपल्ट मृत अवस्थामा फेला परेपछि परिवारजनले हत्या भएको आशंका गरेका छन् ।यो घटनामा सीआइबीको टोली र प्रहरीको टोलीले संयुक्त रुपमा अनुसन्धान गरिरहेको छ । आज मात्रै पाटन पुगेको सीआइबीको टोलीले अनुसन्धान शुरु गरिसकेको छ। घटनाको बिषयमा सोधपुछका लागि ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।