काठमाण्डौ। नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ। नेता शेखर कोइराला नेतृत्वको समूहले महामन्त्री थापालाई उम्मेदवार बनाएसँगै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार रहेका देउवा र थापाबीच प्रतिस्पर्धा हुने भएको हो।
कोइराला पक्षको बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताए। त्यही बैठकमा पुग्नुभएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई ध्यान दिएर थापालाई संसदीय दलको नेता बनाउन आह्वान गरे। उहाँले देउवा पनि आफू उम्मेदवार नभइ शेखर कोइरालाले झैँ वैकल्पिक नेतृत्वको नाम प्रस्ताव गर्नुपर्ने बताए।
पाँच पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धामा हुनुहुन्छ। महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बन्ने अभ्यास छ। प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ जना र समानुपातिकतर्फ ३२ जना गरी ८९ सांसद रहेका छन् । संसदीय दलको विधानअनुसार निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ।
देउवा पक्षले ८९ जनामध्ये ५४ जना सांसद आफ्नो पक्षमा खुलिसकेका दाबी गरेको छ। तर कोइराला पक्षका नेताहरू भने आफूहरूको पक्षमा ४० जनाभन्दा धेरै सांसद रहेको र उम्मेदवारी दर्ता भइसकेपछि अझै बढ्ने दाबी गर्छन् । नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले कसलाई सघाउने भन्ने यकिन गरिसक्नुभएको छैन ।कांग्रेसले यसअघि नै गठन गरेको संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकअनुसार आज उम्मेदवारी दर्ता, उम्मेदवारविरुद्ध दाबी विरोध गर्ने र नाम फिर्ता गर्ने समय तोकिएको छ। आज नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। कांग्रेस संसदीय दलको नेताको चुनाव भने भोलि बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।