बैतडी। बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको हत्या भएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। बैतडीको सुर्नया गाउँपालिका २ ग्वानी घर भइ कृष्ण मावि पाटनमा कार्यरत शिक्षक बिष्ट शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । बिष्ट कार्यरत कृष्ण माध्यमिक विद्यालय र पाटन बहुमुखी क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।
विद्यार्थीहरुले सतबाँझ बजारमा नाराबाजी गर्दै शिक्षक बिष्टको हत्या भएकाले सत्यसत्थ्य छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन्। यस्तै शिक्षक बिष्ट मृत फेला परेपछि परिवारजनले हत्या भएको आशंका गरेका छन् । कृष्ण माविकै छात्रवास भवन पछाडि भिरालो ठाउँमा उनको शव फेला परेको थियो । शवको पोष्टमार्टम गरिएको भएपनि आफन्तहरुले शव बुझ्न मानेका छैनन्।
शिक्षक बिष्टको हत्या गरेर शव फालिएको परिवारजन आशंका गरेका छन् । मृतक बिष्टको दाँत टुटेको, मुखमा घाउ रहेको र शरीरमा निलडाम रहेकाले हत्या भएको उनका भतिजा लोकेन्द्र बिष्टले बताए। घटनाको सत्यतथ्य छानबीन गरी दोषीलाई कारवाही नहुँदा सम्म आफूहरुले शव नबुझ्ने उनले बताए। घटनाका बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए। आजै पोस्टमार्टम रिपोर्ट आउने बताउँदै खत्रीले अन्य ठाउँमा चोट भएको नभएको बारे रिपोर्ट पश्चात थाहा हुने जानकारी दिए।