धनगढी। धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले लर्डबुद्ध एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार सम्पन्न फाइनलमा आयोजक लर्डबुद्धलाई ३३ रनले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो ।उपाधिसँगै एसपीएले नगद १ लाख हात पार्यो । उपविजेता लर्डबुद्धले ५० हजारमा चित्त बुझायो ।
महेन्द्रनगरस्थित कभर्डहलमा एसपीएले दिएको १४९ रनको लक्ष्य पछ्याएको लर्डबुद्ध १९ ओभरमा ११५ रनमा समेटियो ।लर्डबुद्धका सुमित सिह बडाल र राजेश ऐयरले समान १६–१६, मुकेश विष्टले १४, आदर्श साहु र विराट कुँवरले समान ९–९ रन जोडे । एसपीएका सचिन सावँदले ३ तथा निशान रेग्मीले २ विकेट लिए।त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एसपीएले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४८ रन बनायो । एसपीएका लागि सचिन साउदले ५१ बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतमा ४८ रनको योगदान दिए।
यस्तै निशान रेग्मी ३५ रन जोडे । ३७ बल खेलेका उनले ४ चौका प्रहार गरे। त्यसबाहेक एसपीएका आशिष लुहारले बिस्फोटक ब्याटिङ गरे । २२ बलमा उनले ३ छक्का र २ चौका प्रहार गरे ।अजय कडेलले ७ र विक्रम चन्दले १ रन जोड्दा विशाल विष्टले खाता खोल्न सकेनन् ।लर्डबुद्धका सचिन मल्लले दुई तथा रोशन विष्टले एक विकेट लिए। उपाधि उचालेपछि एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले शैक्षिक गुणस्तर अब्बल बनाउँनुका साथै एसपीएका विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा गरेको लगानीको प्रतिफल विद्यार्थीहरुले देखाएको बताए।