धनगढी। सुदूरपश्चिम सरकारको नेतृत्वका लागी दलका नेताहरुको दौडधुप चलेको छ। निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेशको नेतृत्व लगायत सरकार गठनका लागी शिर्ष नेतासँग छलफल तथा दौडधुप बढाएका छन्। केन्द्रीय सत्ता समीकरणबाट स्पष्ट खाका नआइसकेको हुँदा सुदूरपश्चिममा मुख्यमन्त्री को बन्ने र कसको नेतृत्वमा सरकार बन्ने भन्नेबारेमा दलहरू अलमलमै रहेका छन्।
तर पनी सुदूरपश्चिम प्रदेशमा वर्तमान सत्तारुढ गठबन्धन स्पष्ट बहुमत भएपनि एमालेले पनि भित्रभित्रै आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा जुटाएको देखीएको छ। तर एमाले, नागरिक उन्मुक्ति, राप्रपा र एक स्वतन्त्र मिलेर १९ सिट मात्रै पुग्नेछ । गठबन्धन भत्काएर एमालेले माओवादीलाई यता ल्याउन सकेमा चार दल र एक स्वतन्त्र मिलेर वा राप्रपा र स्वतन्त्रलाई बाहिर राखेर प्रदेश सरकार बनाउन सकिने विकल्प देखिन्छ। चार दल र एक स्वतन्त्र मिलेमा संख्या ३० पुग्नेछ।
राप्रपा र स्वतन्त्रलाई बाहिर राखेर एमाले, माओवादी, नागरिक उन्मुक्ति मिलेमा संख्या २८ पुग्नेछ। जुन बहुमतको सरकार गठन गर्न पुग्नेछ । एमाले प्रदेश सचिव तथा समानुपातिक प्रदेश सभा सदस्यका लागि छनोट सूचीमा परेका धर्मराज पाठकले पनि प्रदेश सरकार कसको नेतृत्वमा बन्ने भन्ने कुरा अहिले नै टुंगो नलाग्ने बताए । सत्तारुढ गठबन्धनले केन्द्रमा स्पष्ट बहुमत नपाएका कारण अहिले नै केन्द्रको राजनीति कस्तो हुन्छ भन्ने तय नभइसकेको पाठकले बताए । उनले केन्द्रीय राजनीतिक परिवेशका आधारमा प्रदेशमा एमाले, नागरिक उन्मुक्तिलगायत अन्य दलको सहभागितामा सरकार बन्न सक्नेतर्फ पनि संकेत गरे। ‘अहिले समानुपातिक सदस्यको अन्तिम टुंगो लागिसकेको छैन,’ पाठकले भने, ‘त्यसैले सरकार तत्काल बन्ने देखिँदैन, तर राजनीति सम्भावनाको खेल भएका कारण सरल बाटोमा भने जाने देखिँदैन।’एमालेबाट मुख्यमन्त्रीका लागि समानुपातिक सूचीमा परेका धर्मराज पाठक, डोटीका चक्रबहादुर मल्ल मुख्यमन्त्रीका आकांक्षी छन् ।