डोटी। डोटीको पूर्वीचौकी गाउँपालिकाकी दुर्गा विष्ट (नाम परिवर्तन) लाई एचआईभी सङ्क्रमण भएको दश वर्ष भयो । एचआईभी कारण श्रीमानको मृत्यु पश्चात् घरमा हातमुख जोर्न समस्या भएपछि दुई वर्ष पहिला आफ्ना १५ वर्षीय छोरालाई काम गर्न भारत पठाएका थिए। लामो समयसम्म भारतमा काम गर्दै आउनुभएका श्रीमानको एचआईभीकै कारण ज्यान गएपछि तीन छोराछोरीको पालनमा आर्थिक समस्या पर्न थाल्यो।
आर्थिक अभावकै कारण ७ कक्षा पढ्दैगरेको छोरालाई छिमेकीहरुसँगै भारत पठाउनु परेको दुर्गाले बताए । भारतको एक होटेलमा काम गर्दै गरेको छोराले पठाएको रकमबाट घरमा जोडेको बिजुलीतर्फ देखाउँदै दुर्गाले भन्नुभयो, ‘श्रीमानको निधनपछि घर खर्चको समस्या भयो त्यसैमा आफू पनि बिरामी भइरहने, घरमा भोकै मर्नुभन्दा भारत गएपछि पेटभरी खान त पाउँछ भनेर काम गर्न पठाएँ। दुई वर्षपछि २५ हजार रुपैयाँ घर पठाएको थियो। त्यही पैसाले घरमा बिजुली जोडेँ ।’ आर्थिक अभावका कारण समस्या झेलिरहनु भएकी दुर्गा मात्र हुनु हुन्न, घरमा नियमित रुपमा आम्दानी गर्दैगरेका श्रीमानको ज्यान गएपछि डोटी जिल्लाका एचआईभी सङ्क्रमित एकल महिलालाई आर्थिक समस्या पर्ने गरेको छ ।
एचआईभी सङ्क्रमितले दैनिक एआरभी औषधि खानुपर्ने हुन्छ । दुई महिनामा एक पटक डोटी जिल्ला अस्पताल एआरटी सेन्टरबाट औषधि लिन आउँदा गाडी भाडा तिर्न समेत समस्या हुने गरेको डोटीको सायल गाउँपालिकाकी एचआईभी सङ्क्रमित एकल महिला धना साउँद (नाम परिवर्तन) ले बताउनुभयो । उहाँले भन्नुभयो, ‘डाक्टरले औषधिसँगै पौष्टिक खाना खानु भन्छन् हामीले भोको पेटमा औषधि खानुपर्ने बाध्यता छ।’ एचआईभी सङ्क्रमित एकल महिलाको आय–आर्जन हुने किसिमका कार्यक्रममा सरकारी स्तरबाट प्राथमिकता नदिएको गुनासो एचआईभी सङ्क्रमितको जिल्लास्तरीय सञ्जाल लालीगुराँस एकता समाज डोटीकी अध्यक्ष कमला मल्लको छ।
उहाँले भन्नुभयो, ‘एचआईभी नियमित रूपमा औषधि खाएर स्वास्थ्य राम्रै भएको भए पनि न्यून आय भएका एचआईभी सङ्क्रमित महिलाका लागि भनेर छुट्टै कार्यक्रम सरकारी स्तरबाट आउन सकेको छैन । एकल महिलाभित्र एचआईभी सङ्क्रमित एकल महिलाहरू बढी पीडामा छन् । राज्य पक्षबाट उहाँहरुको पीडा सम्बोधन हुनुपर्छ ।’कामका लागि भारतमा जाने पुरुषहरूले गर्ने असुरक्षित यौनसम्पर्क कारण एचआईभी सङ्क्रमण हुनेगरेको यस क्षेत्रमा राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्र एनसीएएससी लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरुले गरेको अध्ययनले देखाएको छ । स्वास्थ्यकर्मीका अनुसार डोटीका प्रायजसो महिलामा एचआईभी सङ्क्रमण श्रीमानबाटै भएको पाइएको छ।डोटी जिल्ला अस्पताल एआरटी सेन्टरमा रहेको तथ्याङ्क अनुसार डोटी जिल्लामा अहिलेसम्म एक हजार ८३ जनामा एचआईभी सङ्क्रमण पत्ता लागेको छ । अहिले चार सय ९२ जनाले नियमित एआरभी औषधि खाइरहेकामा एक सय ९९ जना एचआईभी सङ्क्रमित एकल महिला रहेका छन् ।