डोटी। डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ र ५ मा रहेको ऐतिहासिक स्थल कोट भैरव र धार्मिक स्थल दुधेश्वर जोड्ने गरी अग्लो डाँडामाथि पुल निर्माण भएको छ। अग्लो र लामो झोलुङ्गे पुल निर्माण भएसँगै पर्यटक आगमनमा वृद्धि भएको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुल निर्माण भएपछि पुल हेर्न र रमाइलो गर्न पर्यटक आउन थालेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा दिपायल सिलगढी नगरपालिकाले ८६ लाख ३८ हजार लगानीमा उक्त पुल निर्माण गरेको हो। जमिनदेखि ७० मिटर उचाइमा निर्माण भएको उक्त पुलको लम्बाइ २०० मिटर छ। दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख विजय खड्काले सोमबार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन्। पुलको उद्घाटन गर्दै नगर प्रमुख खड्काले देशकै ऐतिहासिक र राजनीतिक प्रशासन केन्द्र रहेको कोट भैरव र दुधेश्वर शक्तिपिठ पुलले जोडेर यसलाई नमुना पर्यटकीय स्थल बनाउन पुल निर्माण गरिएको बताए। पुल निर्माणसँगै यहाँको ऐतिहासिकता, मौलिकतालाई उजागर गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको उनले बताए।मध्यकालीन समयमा बाइसे राज्यहरू मध्ये डोटी राज्य सबैभन्दा शक्तिशाली राज्य थियो,“उनले भने, “यसै राज्यका एक चर्चित राजा भूपति शाह हुनुहुन्थ्यो। उहाँले डोटीमा वि।सं। १६१५ देखि १६४७ सम्म शासन गरेको इतिहासमा भेटिन्छ। उहाँकै शासन कालमा डोटी गौडा नामक डाँडामा कोट अर्थात् राजदरबार निर्माण गरिएको थियो। सोही दरबारबाट डोटी राज्यको राजकाज सञ्चालन हुन्थ्यो। राजनीतिक र प्रशासनिक इतिहास भएको यो ठाउँलाई पर्यटकीय स्थल बनाउन थप गतिविधिहरू सञ्चालन गर्ने योजना बनाएका छौँ। यो ठाउँमा ऐतिहासिक कोट भैरव दरबारका भग्नावशेषहरू अहिले पनि भेट्न सकिन्छ। दरबारको पुनर्निर्माणका लागि केही समय अघि उत्खनन पनि गरिएको थियो । डोटी गौणाका रूपमा चिनिने उक्त ठाउँमा रहेको दरबारको निर्माण कार्य भने अगाडी बढ्न सकेको छैन।
झोलुङ्गे पुलको निर्माण कार्य प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन अघि नै सम्पन्न भएको भए पनि आचारसंहिताका कारण ढिलागरि उद्घाटन गरिएको हो । निमार्णकार्य सकिने बित्तिकै सो पुलमा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ। टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा पुल र फुलबाट देखिने दिपाय, पिपल्ला बजार क्षेत्र र सेती नदी चर्चामा रहेको छ। अग्लो ठाउँमा रहेको सो पुलबाट जिल्लाको मुख्य बजार क्षेत्र दिपायल, पिपल्ला, राजपुर सिलगढी, सेती नदी, सेती नदीमा र द्वारीखोलामा रहेका पुल, राजमार्ग लगायत जिल्लाका अधिकांश क्षेत्रहरू अवलोकन गर्न सकिन्छ। दरबारको संरक्षण र पुनर्निर्माण, बन्जी, र्याप्टिङ्गको व्यवस्था एवं ऐतिहासिकताबारे प्रचारप्रसार गर्न सकिए यो क्षेत्रलाई चर्चित पर्यटकीय क्षेत्र बनाउन सकिने दिपायल सिलगढी नगरपालिकाका वडाध्यक्ष राजेन्द्र खड्काले बताए। पुलको संरक्षण, यसको दिगोपना र नियमित सञ्चालनका लागि नगरपालिकाले कार्य योजना बनाएर व्यवस्थित गरिने प्रमुख प्रशासकीय धिकृत शंकर सूचिकारले बताए।गोरखापत्र/केशवचन्द्र महरा