बाजुरा। बाजुराको सदरमुकाम मार्तडीमा बसपार्क नहुँदा पार्किङको समस्या भएको छ । झण्डै चार वर्ष वर्षअघि मात्रै साँफेमार्तडी राजमार्ग अन्तर्गत बाजुराको बार्जुगाडदेखि मार्तडीसम्म सडक कालोपत्रे भएको थियो । सडक कालोपत्रे भएसँगै बाजुराको सदरमुकाम मार्तडीको कागागारसम्म गाडी पुगे पनि बसपार्क नहुँदा पार्किङको समस्या भएको पवनदुत बस यातायात समितिका काउन्टर इन्चार्ज सन्तोष डँडालले बताए ।
उनले, मार्तडीमा सडक पुगेर केही सजिलो भए पनि सवारी साधन राख्न पार्किङ नहुँदा समस्या भएको बताए । काठमाडौं, नेपालगञ्ज, महेन्द्रनगर धनगढी, अत्तरियाबाट आउने सवारी साधन सडकको छेउमै राख्नुपर्छ, डँडालले भने, “यसले गर्दा बाजुराका स्थानीयवासीले दुर्घटनाको जोखिम मोल्नु पर्ने अवस्था छ ।’’बडिमालिका नगरपालिका –८ को पाल्त भन्ने स्थानमा बसपार्क बन्न लागेको झण्डै दुई, तीन वर्ष भयो । तर अहिलेसम्म त्यो बसपार्क निर्माणको काम सम्पन्न भएको छैन ।
अझैँ बसपार्क निर्माणको काम नहुँदा तलबाट आउने लामो दुरीका सवारी साधन पार्किङ गर्न समस्या भएकाले मार्तडीको तुफानडाँडादेखि कारागारसम्मको झण्डै पाँच सय मिटर सडक छेउमै बस पार्किङ गर्दै आएको डडालले बताए ।बस सडकको छेउमै राखेपछि स्थानीयलाई दुरुसञ्चार आउजाउ गर्न समेत समस्या भएको दूरसञ्चार शाखा बाजुरामा कर्मचारी गङ्गाराज जोशीले बताए ।पार्किङका लागि ठाउँ नहुँदा निजी सवारीसाधन लगेर जानेहरूलाई झन् समस्या हुने गरेको छ ।पवनदुत, यातायात, पवनदुत महेन्द्रनगर, महाकाली, सुप, कर्णाली, मालिका, जयमालिका, खप्तड मालिका, सुदूरपश्चिम यातायातका दुई दर्जन भन्दा बढी गाडी मार्तडीमा सञ्चालनमा छन् ।बडिमालिका नगरपालिका प्रमुख अम्मर खड्काले पाल्तमा अघिल्लो नगरकमिटीले बसपार्क निर्माण गरेको छ।
तर त्यसमा गाडी सबै नअट्ने भएकाले त्यसलाई कोल्टीसम्म चल्ने जिपहरूका लागि बसपार्क बनाउने र स्थायीरुपमा बाउलीमा बसपार्क निर्माण गर्ने बताए ।उनले, अन्य ठूला सवारी साधनका लागि चाँडै नै जमिन खरिद गरी स्थायी रूपमा बसपार्कको निर्माण गर्ने बताए ।जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गिन्द्रबहादुर बोगटीले बसपार्क नहुँदा हामीलाई सवारीसाधन व्यवस्थापनमा निकै समस्या भएको बताए । जिल्ला प्रशासन कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रबहादुर विष्टले अहिले अधिकांश यातायातका सवारी सधान सडकको छेउछाउमै पार्किङ गरिरहेकाले बस व्यवस्थापन समितिलाई व्यवस्थापन गर्न निर्देशन दिएको बताए ।गोरखापत्र अनलाईनबाट