डोटी। डोटीमा सेती नदीमा बगेर एक युवकको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका वडा नम्बर २ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको बगेर मृत्यु भएको हो। शनिबार दिउँसो करीब २ बजेको समयमा उनको नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका इन्सपेक्टर लक्ष्मीराज जोशीले बताए।
स्थानीयले नदीमा तैरिइरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थलमा पुगेको थियो। मृतक बोगटीको शव बगेको स्थानबाट ४ सय मिटरको दुरीमा भेटिएको छ। उनी नदी किनारमा गएको र त्यहाँबाट चिप्लिएर बगेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको तयारी भइरहेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।