बैतडी। बैतडीको दुर्गम पालिका भनेर चिनिएको सिगास गाउँपालिका सडक सञ्जालमा जोडिन थालेको छ। संघीयता आउनुभन्दा पहिला सडकबाट विमुख रहेको सिगास गाउँपालिका पछिल्ला ५ बर्षमा सडक सञ्जालमा जोडिन थालेको हो । दुदिलाखानदेखि गाँजरी बाहेक अन्य ठाउँमा सडकको पहुँच नभएको सिगासमा अहिले सबै वडा र गाउँपालिका केन्द्रमा सडक पुर्याउने काम भइरहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।
दोश्रो कार्यकालका लागि समेत निर्वाचित भएका धामीले पहिलो कार्यकालमा सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गरेको बताए । विभिन्न वडाबाट सडकको ट्रयाक खोलिएका र ती सडकहरुलाई गाउँपालिकाको केन्द्र गर्जे सम्म जोड्नका लागि पहल भइरहेको अध्यक्ष धामीले बताए । उनले भने ‘हामीले पहिलो कार्यकालमा सडक विस्तारलाई प्राथमिकतामा राखेर काम गर्यौं । अहिले पनि गाउँपालिका केन्द्र र वडा केन्द्रमा जोड्ने सडकलाई प्राथमिकतामा राखेका छौं ।’
श्रीभावरदेखि दोगाड हुँदै पटौटी पुगेको सडकलाई अहिले गाउँपालिकाको केन्द्र सम्म जोड्ने प्रयास भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविन्द्र ओझाले बताए । गाउँपालिकाको वडा नं ९ र ८ हुँदै गाउँपालिका जोड्ने यो सडक निर्माण कार्य भइरहेको ओझाले बताए । यस्तै साउनखेत–गर्जे सडक पनि गाउँपालिकाको केन्द्र जोड्नका लागि काम भइरहेको ओझाले बताए । यो सडकले वडा नं ३ र ४ का जनताको पालिकाको केन्द्र सम्म पहुँच पुर्याउने बताइएको छ । यी दुवै सडकका लागि १ करोड ३० लाख बजेट विनियोजन भएको छ ।