कैलाली। कैलालीको टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। टिकापुर नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। टीकापुर नगरपालिकाले मंसिर १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो।
त्यसवेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो। उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन् । कैलालीको टिकापुरका घरधनी नरेन्द्र बोहराले आफ्नो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको बताए । लालपुर्जा भएको संरचनामा पनि नगरपालिकाले डोजर लगाएपछि तालाबन्दी गरिएको उनले बताए ।
नगर प्रमुख रामलाल डगौरा थारुको नेतृत्वमा गएको टोलीले वडा नं. ४ को मौरनियाँस्थित पदमबहादुर कठायतको माटोको चिनाई रहेको एक टहरा र नरेन्द्र बोहराको झण्डै ५ मिटर टिनको बार भत्काएको थियो ।अतिक्रमित जग्गा खाली गर्ने अभियान शुरुवात भएको उद्घोष गरेका नगर प्रमुख थारुले कठायत घर र बोहराको बार विना नापजाँच भत्काएको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन् ।नगर प्रमुख रामलाल डगौरा थारुले भने आफू काठमाडौं आएको बताउँदै नगर क्षेत्रभित्र अतिक्रमण भएका जग्गाहरु प्रक्रिया अनुसार क्रमशः खाली गर्दै जाने बताए । स्थानीयले तालाबन्दी गरेपछि नगरपालिकाको काम कारवाही प्रभावित बनेको छ ।