कञ्चनपुर। बैतडीमा युवती हत्या आरोपमा फरार रहेका सशस्त्र प्रहरी जवानलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई पक्राउ गरीएको हो।
कञ्चनपुर प्रहरीले उनलाई आज आइतबार बिहान करिब १० बजेतिर महेन्द्रनगरको बसपार्कमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ। भारत भाग्नै लाग्दा समातिएको खुलेको छ।कोलीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको गाडीमा राखेर उनलाई बैतडी पठाइएको हो।जिल्ला प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीले अड्डासार गर्दै कोलीलाई बैतडी पुर्याइने जानकारी दिए। कञ्चनपुरको पूर्वी सीमामा कैलालीको प्रहरी टोली पुगिसकेकाले त्यहाँबाट कैलालीलाई हस्तान्तरण गरी कञ्चनपुरको टोली फिर्ता हुने बताए ।
त्यहाँबाट कैलाली प्रहरीले कोलीलाई डोटीमा, डोटीप्रहरीले डडेल्धुरालाई बुझाउने छ।डडेल्धुराप्रहरीले बैतडी प्रहरीलाई बुझाइने उनले बताए । मायाको हत्या गरेको अभियोगमा पक्राउ परेका शिवनाथ गाउँपालिका ४ का माथि गत १३ गते मायाको हत्या र उनकी भदै नेहालाई घाइते बनाएर फरार भएको बताइएको छ ।प्रहरीले उनको मोबाइलको लोकेसन ट्रेस गरिरहेको थियो। पछिल्लो पटक उनको लोकेसन डडेल्धुरा देखिएको थियो। त्यसैका आधारमा फरार कोलीको खोजी भइरहेको थियो। उनले चक्कुले मायाको घाँटी रेटेर हत्या गरेको आरोप छ।
चक्कुले कोलीको दाहिने हातमा पनि चोट लागेको देखिएको छ। उनको दाहिने हातको औँलामा चोटको आलो खत पनि देखिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी श्याम चौधरीले बताए। माया र नेहा मंगलबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउ गएका थिए। बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो। खोजतलास गर्दै जाँदा बुधबार मायाको शव तथा नेहा घाइते अवस्थामा भेटिएकी थिइन्। मंगलबार मायाको हत्यापछि कोली आफ्नै घरमा सुतेको र अर्को दिन बिहान १० बजेसम्म घरमै रहेको स्थानीयले बताएका छन्। त्यसपछि भाग्दै कोली डडेल्धुरा पुगेको खुलेको छ। उनको मोबाइलको अन्तिम लोकेसन पनि डडेल्धुरा देखिएको थियो। कञ्चनपुर प्रहरीका अनुसार त्यसपछि कोली अत्तरिया पुगेका थिए। आज बिहानै उनी गाडी चढेर महेन्द्रनगर आएका थिए।