धनगढी। धनगढी ५ हसनपुरस्थीत पिपलचौतारा नजिकै ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी १५ वर्षीया चेतना साउदको दोषीलाई कारवाही गर्न माग गर्दै बिद्यार्थी र स्थानिय आन्दोलनमा उत्रिएका छन्। उनीहरुले पिडीतलाई न्याय र दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन्।
स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा ८ कक्षामा अध्ययनरत साउदलाई साइकलमा विद्यालय जाने क्रममा बिहीबार बिहान सवा १० बजे ग्रेडरले कुल्चीएर मृत्यु भएको थियो । मृतकको शव पाँच घण्टादेखि घटनास्थलमै रहेको छ। यता मृतकका आफन्त र पञ्चोदय माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलनमा उत्रिएपछि साउदको अहिले सम्म शव उठाइएको छैन ।ठक्कर दिने ग्रेडर चालक र कालिका कन्सट्रक्सनका सञ्चालकलाई कारवाही गर्नुपर्ने माग राख्दै उनीहरुले शव उठाउन नदिने अडान लिएका छन् ।
तर स्थानीय प्रशासनले भने दुःखद घटना भइसकेको अवस्थामा बालिकाको शव उठाएर अनुसन्धान कार्यमा सहयोग गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले दोषीलाई कारवाहीको दायरामा ल्याउन प्रशासन प्रतिबद्ध रहेको बताउदै स्थिती सामान्य बनाउन पीडित पक्षसँग सम्बाद भइरहेको बताएका छन्। उनले दार्चुला स्थायी घर भएर धनगढीमा आफन्तकोमा बस्दै आएकी साउदको मृत्यु लगत्तै ग्रेडर र चालक भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । आफन्तले भने दार्चुलाबाट मृतकका परिवारका सदस्य पुगेपछि मात्र शव बुझ्ने बताएका छन् ।