बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोटका ३२ वर्षीय चेतन दिप अयडीको हत्या आरोपमा थप २ जना पक्राउ परेका छन्। विद्यार्थी नेता अयडीको हत्या आरोपमा गत बिहीबार दुई जनालाई पक्राउ गरेकोमा प्रहरीले मंगलबार थप २ जनालाई पक्राउ गरेको हो। अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जनाएको छ।
तर उनीहरुको परिचय भने प्रहरीले खुलाएको छैन। अनुसन्धानकै क्रममा रहेकाले परिचय खुलाउन नमिल्ने प्रहरीको भनाई छ। पक्राउ परेका उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन्। मंसिर ४ गते मतदान गरी घर फर्किने क्रममा सोही नगरपालिका बाजपानीमा कुटपिट हुँदा गम्भीर घाइते भएका अयडीको उपचारका लागि बयलपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। यता ऐडीको बीभत्स हत्या गरिएको घटनाप्रति अनेरास्ववियुले नेपाल सरकारको ध्यानाकर्षण गराउँदै हत्यामा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग गर्दै आएको छ ।