दुई वटा प्रदेश क्षेत्र रहेको डडेल्धुरामा सामानुपातिक तर्फ नेपाली कांग्रेस पार्टी पहिलो भएको छ । मङ्सिर ४ गते भएको निर्वाचनमा प्रदेश १ र २ मा सामानुपातिक तर्फ सबैभन्दा बढी मत नेपाली कांग्रेसले पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५१ हजार ३७७ मत खसेकोमा ४७ हजार ८३१ मत सदर भए । तीन हजार ५४६ मत बदर भए । सदर मत मध्ये कांग्रेस पार्टीले प्रतिशपर्धी पार्टीको तुलनामा दोब्बर मत प्राप्त गरेको छ ।
कांग्रेसले १८ हजार ७२८ मत प्राप्त गरेको छ भने निकटतम प्रतिपर्धी देखिएको नेकपा एमाले पार्टीले नौ हजार २२० मत प्राप्त गरेको छ । यस्तै सत्ता गठबन्धन दल एनेकपा माओवादी केन्द्रले आठ हजार ५५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।
एक हजार मत कटाउनेमा कांग्रेस वीपी, नेकपा समाजवादी र राप्रपा पार्टी रहेका छन । कांग्रेस वीपीले पाँच हजार ५८३ मत, राप्रपाले एक हजार ६५८ र नेकपा समाजवादी पार्टीले एक हजार ७३ मत प्राप्त गरेको उनले जानकारी दिए ।
नेकपा एमालेले प्रतिनिधिसभा सदस्य तर्फ आफ्नो उम्मेदवारी फिर्ता दिई कांग्रेस वीपीलाई समर्थन गरेको थियो । कांग्रेस वीपीले प्रदेशसभा सदस्यमा क्षेत्र १ मा एमालेका उम्मेदवारलाई समर्थन गरेको थियो भने क्षेत्र २ मा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको थियो ।