बाजुरा। बाजुराको बुढिन्नदा नगरपालिका ५ मा मतदान जारी रहेको छ । गत मंसिर ४ गते मतदानका दिन विवाद र झडपका कारण सो मतदान स्थलको मतदान प्रक्रिया स्थगित भएको मतदान आज भैरहेको छ । बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।
बाजुराको बूढीनन्दा–५ को नन्देश्वरी मावि, पीपलचोक मतदान केन्द्रमा दिउँसो २ बजे सम्म ५ सय ६५ मत खसेका छन् । ३ सय पुरुष र २ सय ६५ महिलाले मतदान गरेका छन् । ९ सय ९९ जना मतदाता रहेका छन् । चुनाव शान्ति पुर्ण तरिकाले भइरहेको छ । बाजुराकै अन्य २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी परेको छ। विवादित बनेको त्रिवेणी, बूढीगङ्गा लगायतका पालिकाको २४ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने मागसहित उजुरी परेको छ। घटनाको वस्तुस्थिति बुझ्न निर्वाचन आयोगले सहसचिव तुलसीबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय टोली बाजुरा पठाएको छ।