डडेल्धुरा। डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ। डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार ५६ प्रतिशत मत खसेको जानकारी दिए। उनले डडेल्धुराका सबै क्षेत्रबाट पुर्ण विवरण आइनसकेकाले त्यसपछि मात्रै एकिन कती प्रतिशत मत खसेको भन्ने बारेमा जानकारी हुने बताए ।
प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार रहेका छन्।प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन्।
यसैगरी प्रदेशसभा २ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन्। डडेल्धुरामा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल कायम भएका थिए। यहाँको कूल मतदाता संख्या ९१ हजार १०२ रहेको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै मतदान केन्द्रबाट मत पेटिका आउने क्रम जारी रहेको र मतपेटिका आइसकेपछि मतगणना शुरु हुने जनाएको छ।प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले डडेल्धुरामा प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मतगणना हुने स्थान तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, डडेल्धुरा जिल्ला अदालतको भवन अमरगढी नगरपालिका–५ मा मतगणना हुने भएको हो । मतगणनाका क्रममा हुने आवान्छित घटना रोक्नको लागि मतगणना स्थलमा सिसिटिभी क्यामेरा र तार जालीको प्रवन्ध गरिएको छ ।