डोटी। डोटीमा मतदान स्थलमा ४ राउण्ड हवाइ फायर भएको छ। डोटीको मतदान स्थलमा डोटीमा झडपको स्थिति सिर्जना भएपछि ४ राउन्ड हवाई फायर भएको हो। शिखर नगरपालिका– ८ स्थित राधाकृष्ण माविमा रहेको मतदान केन्द्रमा मतदान गर्ने क्रममा मतदानस्थल भित्र विवाद भएपछि स्थिति सामान्य गर्न प्रहरीले ४ राउण्डहवाइ फायर गरेको जनाएको छ।
केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न ४ राउण्ड हवाइ फायर गरिएको मतदानको सुरक्षाका लागि खटिएका प्रहरी नायव निरीक्षक भीम बोहराले जानकारी दिए। केही समयका लागि मतदान प्रक्रिया रोकिए पनि स्थिति सामान्य भएपछि मतदान पुनः सुरु भएको जनाइएको छ। १७ सय मतदाता रहेको उक्त मतदानस्थलमा ५०६ मत खसेको छ। अहिले मतदान जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै डोटीकै जोरायल गाउँपालिका ३ रावतकट्टेमा रहेको रत्न माध्यमिक विद्यालयमा भइरहेको मतदान भने रोकिएको छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण हुँदा मतदान स्थगित भएको हो। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको क्रम संख्या ९०१ देखि ९१८ सम्मको मतपत्र प्रदेश सभाको प्रत्यक्षतर्फका लागि वितरण गरिएको थियो। अहिले मतदान सुचारु गर्न छलफल भैरहेको छ ।